नेपालको संविधानको धारा ८४ अनुसार दुई सय ७५ सदस्य रहने प्रतिनिध सभाको गठन देहाय बमोजिम हुने व्यवस्था छः
क) प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ (एक सय ६५)
(जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टतामका आधारमा नेपाललाई एक सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना)
ख) समानुपातिक निर्वाचन प्रणालीबाट ११० (एक सय दस)
(सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने निर्वाचन प्रणाली)
केही थप कुरा
- समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसङ्ख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउनुपर्ने, भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने,
- अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुने,
- प्रतिनिधि सभाका सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न अधिकार पाएको व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने तर एउटै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा एकैपटक उम्मेदवार हुन नपाउने,
- प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने,
- सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने,
स्रोत: गोरखापत्र दैनिक