मुस्ताङमा १८ सय वर्ष पुरानो मुखुण्डो भेटियो

0
71
views
nepal-mask-2263872
माथिल्लो मुस्ताङको सामजोङ गुफामा दुईवटा पुरातात्विक मुखुण्डो (मास्क) फेला परेका छन्। पुरातत्व विभाग र अमेरिकी उत्खनन टोलीले एक महिनाअघि गरेको खोजीमा करिब १८ सय वर्ष पुराना सुन र चाँदी मिश्रित मुखुण्डो फेला परेको हो। प्राचीन मानिसले चिहानका रुपमा प्रयोग गरेको गुफामा मानव कंकालसँगै मुखुण्डो भेटिएको पुरातत्व विभागले जनाएको छ। उत्खननमा संलग्न व्यक्तिहरुका अनुसार मानव कंकाल तथा कुनै ठाउँमा जनावरका हाडखोरसँगै मुखुण्डोहरु भेटिएका थिए। मुखुण्डोको प्रकृति हेर्दा १५ देखि १८ सय वर्ष पुराना हुनसक्ने अनुमान छ
उत्खननमा संलग्न एथेन्सका अनुसार अघिल्लो वर्ष र अहिले भेटिएका मुखुण्डो उस्तै छन्। ‘हामीले यसप्रकारको मुखुण्डो सन् २०११ मा पनि भेटेका थियौं,’ उनले भने, ‘अहिलेसम्म तीनवटा मुखुण्डो भेटिए।’ विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवाली मान्छे मरेपछि मुखुण्डो पनि लाससँगै चिहानमा गाड्ने चलन रहेको अनुमान गर्छन्। एउटामा सुन बढी र अर्कामा चाँदी बढी रहेको उनले बताए। गुफाको चार भागमध्ये अन्तिममा मुखुण्डो भेटिएको थियो। मुखुण्डोको तस्बिर गोपनीयताका लागि भन्दै विभागले उपलब्ध गराएन। सन् २०११ मा थालिएको सामजोङ गुफा उत्खनन सम्पन्न भएको समेत उनले बताए। छ वर्षदेखि मुस्ताङमा अध्ययन गरिरहेको टोलीले दोस्रोपटकको उत्खननमा मुखुण्डो भेटेको विभागले जनायो। उनीहरुको पाँचवर्षे उत्खनन सन् २०१७ सम्म जारी रहनेछ। मुस्ताङमा अहिलेसम्म ३ हजार वर्ष पुराना अवशेष भेटिएका छन्।
 
साभार नागरिक दैनिक २०७०।०३।२१ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.