तयारी लोकसेवाको

0
332
views
मिहिनेतमा विश्वास गर्नेहरू अझै पनि लोकसेवा परीक्षामा विश्वास गर्दछन् ।thinking-web-pic
मिहिनेती लोकसेवा परीक्षामा खरो उत्रेका पनि छन्  भने धेरैलाई फलामको च्यूरा चपाउनुसरह भएको पनि छ ।  विश्वविद्यालयको प्राज्ञिक उत्तीर्णमुखी परिक्षामा सामेल हुदै आएका धेरैलाई लोकसेवा आयोगको प्रतिस्पर्धामुखी परीक्षा पास गर्नु असम्भव जस्तै पनि भएको छ । यद्यपि लोकसेवा परीक्षाको तयारी सजिलो भने पक्कै छैन ।  फाराम भर्न पनि लामो लाइन र पढ्न पनि उस्तै गार्‍हो, कसरी गर्ने त तयारी ? के कुरामा ध्यान दिने ?
यसरी गरौ लोक सेवा आयोगको तयारी
  1. पाठ्यक्रम राम्ररी बुझौँ
    सबैभन्दा पहिले त पाठ्यक्रममा के के छन् भनेर थाहा पाउनु पर्दछ । पाठ्यक्रम राम्रोसँग बुझ्न सकियो भने १० प्रतिशत काम बन्छ । अध्ययनका लागि सहज बाटो खुल्दछ । पहिले जस्तो कण्ठ गरेर उत्तर दिनेभन्दा पनि प्रश्न बुझेर सिलसिलेवर तरिकाले लेख्नुपर्ने व्यवस्था लोकसेवाको पछिल्लो पाठ्यक्रममा गरिएको छ । अधिकृत स्तरदेखि तल्लो तहका लागि कण्ठ गरेको उपयुक्त ठानिन्छ भने अधिकृत र माथिको पदका लागि बुझ्ने प्रक्रिया अगाडि बढाउनुपर्छ ।
  2. दृढ विश्वास, निरन्तर प्रयास र दूरदृष्टि राखौ
    पहिला दृढ विश्वास र दूरदृष्टि राख्नुपर्छ । जसरी पनि गर्छु भन्ने आत्मविश्वास लिन आवश्यक छ । लोकसेवा फेल र पासभन्दा पनि मेरिटमा आधारित परीक्षा प्रणाली हो । आयोगद्वारा लिइने परीक्षा उत्तीर्ण हुन ज्यादै कठिन छ भन्ने भ्रम धेरै उम्मेदवारमा पाइन्छ । यो भ्रमबाट टाढा रही िनिरन्तरको प्रयास र ज्ञानको दायरालाई बढाउदै जाउँ ।
  3. खण्डीकरण गरी समय छुट्याउने
    परिक्षाको तयारी गर्दादेखी नै सबै विषयलाई समान रुपमा समय मिलाएर पढ्ने तथा परिक्षामा सोधिएका प्रश्नहरूलाई खण्डीकरण गरेर समय छुट्याएर लेख्ने गर्नु पर्दछ । प्रश्नहरूको उत्तर लेख्दा निबन्ध जस्तो नभएर ‘टु दि प्वाइन्ट’ भएर दिउ । 
    एकै पटक जाँचमा बस्दा सबै कुराको व्यवस्थापन नहुन सक्छ । जाँचमा प्रश्नहरू कसरी सन्तुलित रूपमा हल गर्न सकिन्छ भनी पटक-पटक अभ्यास गर्नुपर्दछ ।
  4. समूहमा बसेर तयारी गरौ

    लोकसेवाको तयारी गर्दा एक्लै गर्नुभन्दा समूहमा गर्दा राम्रो हुन्छ । समूहमा तयारी गर्दा एक जनाले जानेको कुरा अर्कोले नजानेको हुन्छ त्यस्ता कुरा साथीभाइबाट सजिलै सिक्न सकिन्छ । जाँच दिन दुईदेखि तीन वर्षको समयावधि राख्नु राम्रो हुन्छ । लोकसेवाको फाराम भरेपछि पढ्न सुरू गर्ने प्रवृति परीक्षार्थीमा पाइन्छ । यसो गर्नाले सफलता पाउन गाह्रो हुन्छ । अहिले इन्टरनेट तथा पढ्नका लागि अथाह सामग्री उपलब्ध छन् । यसका साथै चुनौती पनि थुप्रै भएकाले प्रतिस्पर्धामा उत्रने र जसरी पनि गर्छु भन्ने आत्मविश्वास राख्नुपर्छ ।
  5. तयारी कक्षाको उपयोग गरौँ

    तयारी कक्षामा मुख्यतः लेखन सीप, पाठ्यक्रमका नीति, नियम तथा सिद्धान्त र नेपालमा ती नीति नियमका प्रयोग तथा अभ्यास आदिको बारेमा सम्बन्धित विज्ञ तथा सोही क्षेत्रका व्यक्तित्वहरूबाट सिकाइने गरेको पाइन्छ । यस्ता तयारी कक्षामा गएकामध्येबाट लोकसेवा परीक्षामा सफल हुनेको सङ्ख्या अधिक भएकाले पनि यस्ता कक्षाप्रति परीक्षार्थीको मोह बढेको पाइन्छ । विद्यार्थीलाई तयारी कक्षाले ६० प्रतिशत सघाउँछ । बाँकी विद्यार्थीको मिहिनेतमा भर पर्छ । 

     

आयोगको छनोट प्रक्रिया
 
         लोकसेवा आयोग कार्यविधि ऐन, २०४८ अनुसार आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षा, खुला प्रतियोगितात्मक प्रयोगात्मक परीक्षा, छनोट, अन्तर्वार्ता र आयोगले तोकेका अन्य तरिकाबाट उम्मेदवार छनोट प्रक्रियाका लागि वाषिर्क कार्यतालिका तयार गर्ने गर्दछ ।
          सम्बन्धित निकायबाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भएपछि लोकसेवा अयोगले सम्बन्धित ऐन नियम अनुसार पदपूर्तिका लागि सङ्ख्या निर्धारण गर्दछ । पदसङ्ख्या निर्धारणपश्चात् प्रत्येक बुधबार प्रकाशित हुने आयोगको बुलेटिन र गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा २१ दिन र दोब्बर दस्तुरी तिरी थप सात दिनको म्याद दिई दरखास्त आहृवान गर्दछ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन प्रकाशित भइसकेपछि आयोगको केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालय र अञ्चल कार्यालयमा विज्ञापित पदको दरखास्त लिइन्छ । यसरी विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा सामेल हुन पाउने प्रवेशपत्र जारी गर्दछ ।
                छनोट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्न आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका विषय थाहा पाउन नसक्ने प्रणाली अबलम्बन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ ।
                यी कार्य सम्पादन गर्ने क्रममा सम्बन्धित सेवा समूह र पदको परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने प्रश्नपत्र निर्माण गर्न सम्बन्धित विषयका दक्षलाई पठाइने र गोप्य सिलबन्दी रूपमा प्रश्नपत्रको सेट प्राप्त हुने, उक्त कच्चा प्रश्नपत्रका सेटमध्ये पुनः सोही विषयका अर्का दक्षलाई बोलाई कम्तीमा पाँच सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै सङ्केत नम्बर दिई राखिने र परीक्षा सञ्चालनको समयमा ती सेटमध्ये आयोगका अध्यक्षबाट सङ्केत नम्बरका आधारमा छनोट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ ।
                  लिखित परीक्षा सञ्चालनपछि प्राप्त भएका सम्पूर्ण उत्तरपुस्तिकामा परीक्षा सञ्चालन शाखाले प्रथम कोड राख्ने र दोस्रो कोड राख्न अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने गरिन्छ । यसरी दोस्रो कोडपछि प्राप्त उत्तरपुस्तिका अध्यक्षले तोकेका सम्बन्धित बिषयका दक्ष र विशेषज्ञहरूलाई परीक्षणका लागि पठाइन्छ । परीक्षणपछि प्राप्त भएका उत्तरपुस्तिकाको प्राप्ताङ्क तालिकीकरण गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरिन्छ । अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई सम्बन्धित विषयमा दक्षसमेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अङ्क अर्कोले नदेख्ने गरी गोप्य रूपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोल्ने गरिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अङ्क अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ ।
                  लोकसेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माणलगायतका आयोगको कामका लागि सम्बन्धित शाखाले सम्बन्धित बिषयका आवश्यक सङ्ख्यामा दक्षको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराई दक्ष र विशेषज्ञको सूची राख्दै आएको छ ।
स्रोत : विभिन्न लेख तथा वेब साइटको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.